काठमाडौं, ८ मंसिर । राष्ट्रिय सभाका सांसदहरूले आगामी निर्वाचनका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले सुरक्षा, सुशासन र तयारी कमजोर रहेको टिप्पणी गरे ।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले जेनजी आन्दोलनका क्रममा देखिएका आपराधिक गतिविधिमाथि कारबाही गर्न प्रहरीलाई रोकिएको र प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगरेको भन्दै सरकारप्रति प्रश्न उठाए ।
उनले यस्तो अवस्थामा सुरक्षित निर्वाचन सम्भव नहुने बताए । नेकपा (एमाले) की सांसद सुमित्रा बिसीले नयाँ संसद भवन निर्माणमा पटक–पटक ढिलाइ भएको भन्दै राष्ट्रिय सभा बैठक सञ्चालनमै समस्या देखिएको धारणा राखिन् ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेनु चन्दले राष्ट्रिय गौरवका आयोजना अघि नबढ्दा फेरि नयाँ आन्दोलन चर्किने खतरा रहेको चेतावनी दिँदै कर्मचारी प्रशासनले सक्रिय भूमिका खेल्नुपर्ने बताइन् ।














