काठमाडौं, ७ मंसिर । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारले उठाइएका २७ मागमध्ये विस्तृत छलफल गर्दै कुल १० बुँदामा सहमति भएको दाबी गरेको छ ।
सहमतिमा २० लाखभन्दा कमको लघुवित्त तथा सहकारी ऋण मिनाहा, सहकारी बचत डुबान समस्या समाधानका लागि संयन्त्र गठन, बैंक–वित्तीय संस्थाबाट कालोसूचीमा परेकालाई हटाउन त्रिपक्षीय संयन्त्र गठन, जेनजी आन्दोलनका पक्राउ परेकालाई रिहाइ प्रक्रिया सुरु गर्ने लगायतका बुँदा समेटिएका छन् ।
हिन्दु अधिराज्य, संघीयता र राजतन्त्रबारे जनमतसंग्रहको विषय आगामी वार्तामा टुङ्ग्याउने उल्लेख छ । महाअभियानले बन्द–हड्ताल स्थगित गरी जागरणसभा गर्ने र १५ दिनभित्र प्रगति नदेखिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।












