काठमाडौं, १३ कात्तिक । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् । चौधरी सहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गर्न लागेका हुन् । पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।














