काठमाडौं, १३ कात्तिक । तुलसीपुर उच्च अदालत बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी सम्बन्धी मुद्दाको आज तोकिएको सुनुवाइ स्थगित गरिएका छन् ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवै मुद्दा चौथो नम्बरमा सूचीबद्ध थियो । तर, जोशीका कानुन व्यवसायीले स्थगित गर्न माग गर्दै निवेदन दिएपछि, लगाउमै रहेको लामिछानेको मुद्दा पनि स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
यसअघि, न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीका मुद्दा एउटै प्रकृतिका भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थिए । सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा दुवै जना थुनामा छन् ।
जोशी हाल भैरहवा कारागारमा छन् भने लामिछानेलाई केही समयअघि भैरहवाबाट नख्खु कारागार सारिएको हो । लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनामुक्त भई बाहिरबाट मुद्दा लड्न अनुमति माग्दै उच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।
अदालतले उक्त निवेदनसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच आज बहस हुने अपेक्षा गरिएको भए पनि, सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ ।














