काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जेनजी (जेनेरेसन जस्टिस) र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भइरहेको त्रिपक्षीय छलफलमा निरन्तर संवाद र सहकार्यको आवश्यकता औंल्याएकी छन् ।
बालुवाटारमा बुधबारदेखि जारी वार्ताको प्रारम्भिक चरणमा प्रधानमन्त्री कार्कीले मुलुकका चुनौती र समाधानका उपायका विषयमा सबै पक्षबीच साझा दृष्टिकोण बन्नुपर्ने बताइन् ।
उनका अनुसार, एक पटकको भेट वा छलफलले दीर्घकालीन नतिजा दिन सक्दैन, त्यसैले निरन्तर र संस्थागत संवाद नै समाधानको बाटो हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, जेनजीका प्रतिनिधिहरूले आफ्ना माग र सुझावहरू औपचारिक रूपमा राखिसकेका छन् भने सरकार र राजनीतिक दलका तर्फबाट धारणा प्रस्तुत गर्ने क्रम जारी छ । संवादको प्रारम्भमा प्रधानमन्त्रीले सबैलाई खुला ढंगले विचार राख्न आह्वान गर्दै भनिन्, “मुलुक हाम्रो हो, हामीले नै बनाउने हो ।
हामीले नबनाए कसैले बनाइदिँदैन । उनले थप भनिन्, “एकपटकको कुराकानीले हुँदैन, बारम्बार छलफल हुनुपर्छ । हामीले यो सुरुवात गरेका छौं र यसलाई निरन्तरता दिनुपर्छ ।
बैठकमा जेनजीका प्रतिनिधिहरूले युवा पुस्ताको सहभागिता, सुशासन, रोजगारीका अवसर र नीति निर्माणमा पारदर्शिताका विषयमा जोड दिएका छन् ।
प्रधानमन्त्री कार्कीले सबैका सुझावलाई सकारात्मक रूपमा लिने र सरकार समावेशी संवादमार्फत साझा समझदारीको खोजीमा अघि बढ्ने बताइन् ।














