काठमाडौँ, ६ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पारेका छन् ।
पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूले उनलाई ‘उज्यालो नेपाल पार्टी’मा आबद्ध गराउँदै सो पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने समाचार सम्प्रेषण गरेपछि मन्त्री घिसिङले त्यसप्रति आपत्ति जनाएका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै ती समाचारहरू पूर्णरूपमा आधारहीन र तथ्यहीन भएको बताएका छन् । “समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धता वा कुनै किसिमको छलफल भएको छैन,” मन्त्री घिसिङले भनेका छन् ।
“प्रचार गरिएझैँ ‘जुम’ बैठकमा मेरो सहभागिता पनि छैन । मन्त्री घिसिङले आफूलाई राजनीतिक उद्देश्यले लक्षित गर्दै असत्य र भ्रामक समाचार फैलाइएको आरोपसमेत लगाएका छन् ।
उनले भने, “मसँग कुनै छलफल वा सल्लाह नगरी दुषित मनसायका साथ असत्य र तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।
उनले आफू अहिले जिम्मेवारीमा रहेको ऊर्जा क्षेत्रको सुधार र सुदृढीकरणमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्दै कुनै पनि पार्टीगत गतिविधिमा संलग्न नभएको दोहोर्याए ।
यसअघि पनि घिसिङको नाम विभिन्न राजनीतिक समूहसँग जोडिँदै आएको भए पनि उनले हरेक पटक त्यस्ता दाबीहरू असत्य रहेको भन्दै अस्वीकार गर्दै आएका छन् ।














