काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिनेगरी सरकारले कानुन नल्याउने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलाइएको जनाए ।
‘बहुविवाहलाई मान्यता दिने विषय संवेदनशील भएर उठेको देखिन्छ । सामाजिक जागरण, सामाजिक न्याय र महिला हकअधिकारका लागि लडेर ल्याएका पार्टीहरूले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउँछ भन्ने कसरी लाग्यो ? हल्ला कसले चलायो ? मैले थाहा पाएको छैन । सरकारले थाहा पाएको छैन । कहाँबाट आउँछ ?’
उनले भने, ‘सभामुख महोदयमार्फत म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु बहुविवाहलाई मान्यता दिनेगरी कानुन बनाउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।
उनले यस्ता अरु पनि हल्ला चलाइएको भन्दै आफू त्यसको पछि नलाग्ने बताए ।














