जनकपुर, २७ साउन। नेपाल पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थानसँग कानुनी प्रक्रिया पूरा गर्दै २० वर्षका लागि ४ कट्ठा जग्गा भाडामा लिएको छ।
तर, सम्झौता भएसँगै उक्त जग्गा नेपाल बार एशोसिएशन जनकपुरधामले बलपूर्वक कब्जा गरेको आरोप लगाइएको छ।
पत्रकार महासंघका अनुसार गुठी संस्थानसँग वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँ भाडामा जग्गा लिने सम्झौता गरिएको हो।
सम्झौता पत्रअनुसार महासंघले प्रदेश कार्यालयको भवन निर्माण गर्ने तयारी गरेको थियो। तर, साउन २० गते बार एशोसिएशनले सूचना जारी गर्दै २१ गतेदेखि आफ्नो कार्यालय छेउमा रहेको उक्त जग्गामा कानुन व्यवसायीको गाडी पार्किङ गर्न सुरु गर्यो।
अध्यक्षको प्रतिक्रिया
महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बनजाराले यस कदमलाई ‘अतिक्रमण’को संज्ञा दिँदै आपत्ति जनाएका छन्। उनले गुठीसँगको सम्झौता विधिवत् भएको र कुनै कानुनी त्रुटि नरहेको बताए। अध्यक्ष बनजाराले भने,
“बारले यो स्थानमा कसैले भवन बनाउन नपाओस् भन्ने पूर्वाग्रहसहित व्यवहार गरेको छ, जुन आपत्तिजनक छ।”
उनका अनुसार दुवै पक्षबीच मौखिक वार्ता पनि भएको थियो, जसअनुसार जग्गा प्रयोगमा बाटोको समस्या भएमा महासंघले त्यसको समाधान गर्ने सहमति भएको थियो।
कानुनी विवादको संकेत
अध्यक्ष बनजाराले हिजो मात्र अनौपचारिक रूपमा यो विषयमा रिट दर्ता भएको थाहा पाएको बताए। अदालतले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको पनि उनले जानकारी दिए।
“विद्वान अधिवक्ताले यसरी व्यवहार गर्नु, त्यो नै विद्वतामाथि गम्भीर प्रश्न हो,” अध्यक्ष बनजाराले भने।
उनका अनुसार, कुनै पनि नागरिकले कानुनी रूपमा प्राप्त गरेको जग्गा अर्को संस्थाले आफ्नो दाबी गर्नु अस्वाभाविक हो। महासंघले भनेको छ — अनावश्यक किचलो नगरी प्रदेश कार्यालयको भवन निर्माणमा अघि बढ्ने, र न्यायालयबाट न्यायको अपेक्षा राख्ने।














