काठमाडौं, २६ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई केवल राजनीतिक व्यक्तित्वका रूपमा मात्रै नभई समाज परिवर्तनको अभियानमा अग्रणी योद्धाका रूपमा सम्झिनुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मदन–आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीलाई शपथ ग्रहण गराउने क्रममा उनले मदन भण्डारी र जीवराज आश्रितको योगदानको चर्चा गरे ।
प्रधानमन्त्री ओलीले भने, “मदन भण्डारीलाई सम्झिँदा तटस्थ भएर सम्झिन सकिँदैन। उहाँ सामन्तवाद विरोधी नेता हुनुहुन्थ्यो। राष्ट्रिय स्वतन्त्रताको पक्षमा उहाँको स्पष्ट अडान थियो। लोकतन्त्र र मानवीय मूल्यका पक्षमा उहाँको नेतृत्व प्रेरणादायी थियो ।
त्यस्तै, नेता जीवराज आश्रितबारे पनि ओलीले भने, “आश्रितजीलाई केवल असल मानिस भनेर सम्झिनु पर्याप्त हुँदैन । उहाँ निरंकुश शासनविरुद्ध विद्रोह गर्ने साहसी योद्धा हुनुहुन्थ्यो ।
सूर्यवंशी भनेर आफूलाई विशेष ठान्नेहरूका विरुद्ध उहाँले आवाज उठाउनुभयो, त्यो न्यायका पक्षमा गरिएको विद्रोह थियो ।” ओलीले दुवै नेतालाई ‘असमानता, भेदभाव र अत्याचारविरुद्ध लड्ने योद्धा’को संज्ञा दिए ।
“उहाँहरू नायक हुनुहुन्थ्यो । अत्याचार, अन्याय र थिचोमिचो समाप्त नभएसम्म यस्ता नायकहरूको आवश्यकता रहन्छ,” उनले भने । उनले राजनीतिक संघर्षको स्वरूप समयानुसार फेरिनुपर्ने उल्लेख गर्दै भने, “क्रान्ति सधैं हिंसात्मक हुनुपर्छ भन्ने होइन । अहिलेको क्रान्ति शान्तिपूर्ण र भलाद्मी शैलीको हुनुपर्छ ।
विचार र चेतनाका माध्यमबाट परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ ।” कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू, प्रतिष्ठानका पदाधिकारीहरू तथा विभिन्न तहका कार्यकर्ताहरूको उपस्थिति थियो।
कार्यक्रममा मदन भण्डारी र जीवराज आश्रितको जीवनी तथा योगदानबारे वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।














