काठमाडौं, २५ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्बाट विश्वासको मत लिँदै छन् ।
यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । त्यस दिन संसद्मा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँका पक्षमा मत जाहेर गर्न एमालेले आफ्ना २७ सांसदलाई ह्विप जारी गरेको हो ।
बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको अनुरोधमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि आउँदो २७ गते मंगलबार दिनको ४ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मत जाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु’, एमाले बागमतीका प्रमुख सचेतक एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत लिँदा बानियाँका पक्षमा बहुमतका लागि ५६ सांसदले साथ दिनुपर्छ । त्यसो त बानियाँकै पार्टी कांग्रेसका ३७ सांसद रहेकाले दुई दलका गरी कुल संख्या ६४ पुग्छ ।
तर आन्तरिक किचलोका कारण बानियाँलाई आफ्नै पार्टीका १४ सांसदले विश्वासको मत नदिने चेतावनी दिइरहेका छन् । 














