काठमाडौं, २३ साउन । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने तयारी रहेका छन् ।
एमाले–कांग्रेस गठबन्धनबाट यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था हो । त्यसअघि साउन २७ गते नै उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम संसद्बाट विश्वासको मत लिन लागेको हो । यस प्रयोजनका लागि त्यस दिन बस्ने गरी संसद् बैठक आह्वान गर्न सभामुख भुवनकुमार पाठकलाई भनेको छ ।
सभामुख पाठकले छलफल गरेर मिति तय भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा रहेकाले सोहीअनुसार संसद्को बैठकको समय निर्धारण गर्ने तयारी रहेको जनाएको छ । कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेको हो ।
आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई चुनावबाट आफैँ दलका नेता बनेका थियो । दलको नेतामा चुनाव हारेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएको थियो ।














