काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउने भएका छन् ।
उनी आगामी भदौ १ गते (१७ अगस्त) काठमाडौँ आउने स्रोतले जनाएको छ । ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ ।
तर, भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिवसँग भेटेर ओलीको भारत भ्रमणका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय सम्वद्ध स्रोतहरूले जनाएका छन् ।














