जनकपुर, १४ फागुन । आज देशभर महाशिवरात्रि पर्व भक्तिपूर्वक मनाइँदैछ । भगवान शिवको आराधना गर्न बिहानैदेखि शिवालयहरूमा भक्तजनहरू पूजापाठ गर्नमा व्यस्त देखिएका छन ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजा–अर्चना गरिरहेका छन् । जनकपुरको कपिलेश्वरनाथ महादेव, धनुषाको क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायतका मन्दिरमा विशेष भीड देखिएको छ ।
शवपुराणलगायतका ग्रन्थहरूमा उल्लेख गरिएअनुसार, महाशिवरात्रि भगवान शिवको उत्पत्तिसँग सम्बन्धित चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ ।
यस दिनलाई धर्मको उदय गराउने आशुतोष भगवान शिवको प्रिय दिनका रूपमा लिइन्छ । शिवरात्रिको अवसरमा भक्तजनहरूले व्रत बस्ने, शिवलिंगमा दूध, धतुरो, र बेलपत्र चढाउने परम्परा निर्वाह गर्छन् ।
यस रात जाग्राम बसेर भगवान शिवको भजन–कीर्तन गर्नाले सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।














