काठमाडौं, ११ फागुन । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।
सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेको हो ।
अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ भने सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन ।
उनीहरुबाट २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ । प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् ।












