जनकपुर, ५ फागुन । दुई साताअघि यहाँको कलैया उपमहानगरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनस्र्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएका छन् ।
कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाइको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गरे । ‘दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ ।
माघ १७ गते नवजन्म पुनस्र्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ’, घटनासँग जोडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गरे ।
पुनस्र्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको हो ।
‘मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रस्ट भएको छ’, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भने, ‘मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।’
मण्डललाई दुई साताअघि परिवारले पुनस्र्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताए ।














