काठमाडौँ, २९ माघ । राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने समय १० दिन थप गरेका छन् ।
एक सार्वजनिक सूचना निकाल्दै मंगलबार सकिने म्याद आगामी फागुन ९ सम्म लम्ब्याएको हो । पछिल्लो सूचनाअनुसार ९ गते दिउँसो १ बजेसम्म आवेदन दिन सकिनेछ भने सोही दिन २ बजे प्रस्ताव खोलिनेछ । राहदानी छपाइको ठेक्का आह्वान पटक पटक विवादित बन्दै आएको छ ।
यसविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत धेरै उजुरी परेका थियो । कार्यालयले उजुरी सुनुवाइ गर्दै पछिल्लोपटक माघ २० गते गुनासो सम्बोधन गर्न विभागलाई पत्र पठाएको थियो । त्यसअघि पनि कार्यालयकै निर्देशनपछि विभागले टेन्डर डकुमेन्ट संशोधन गरेको थियो ।
डकुमेन्ट संशोधन गरे पनि म्याद नथपिएपछि कार्यालयमा उजुरी परेको थियो । म्याद थप गर्दा प्रतिस्पर्धी धेरै सहभागी हुनसक्ने आकलन गरिएको छ । गत मंसिर १३ मा विभागले पहिलोपटक पासपोर्ट छपाइको टेन्डर आह्वान गरेको थियो । तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएपछि विवादमा प¥यो ।
फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो । अहिले त्यसलाई पनि संशोधन गरी फेब्रुअरी २१ सम्म विस्तार गरिएको हो ।












