काठमाडौं, २५ माघ । नवलपरासी पूर्व (नवलपुर) एक महिला माथि गैँडाको आक्रमणले एक महिलाको मृत्यु भएको छ ।
देवचुली नगरपालिका १ मिलनचोक निवासी ४७ वर्षीया राममाया सोतीको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस दाउरा काट्न जंगल गएकी सोती गएको बुधबारदेखि बेपत्ता थिइन्। दिव्यमध्यवर्ती सामुदायिक वनमा बिहीबार दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दियो ।
उनको शवका पोष्टमार्टमका लागि प्रदेश अस्पताल डण्डामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दियो । सोती बुधबार गाउँका चारजना साथीसँगै घाँस काट्न जंगल गएकी थिइन् । जंगलमा गैँडाले आक्रमण गर्न थालेपछि दुईजना भागेका थिए भने एक जनालाई गैँडाले आक्रमण गरी घाइते गरेको थियो ।
त्यसयता सोती बेपत्ता थिइन् । स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा दिव्यमध्यवर्ती सामुदायिक वनभित्र बिहीबार सोतीको शव भेटिएको हो । गैँडाको आक्रमणबाट घाइते भएकी ३३ वर्षीया कुमारी आलेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














