जनकपुर, २५ पौंस । बिहिवार मधेश प्रदेश सभा चौथो अधिवेशनको तेश्रो बैठकमा प्रदेश सभा सदस्य सम्भु कुमार साहले एक गम्भीर आरोप लगाएका छन् ।
शुन्य समयमा बोल्दै उनले सप्तरी जिल्लाको बेल्ही नाकामा प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको खुलासा गरे । साहले भने, “बेल्ही नाकाबाट सुपारी, स्याउ, मटर, लहसुन, कस्मेटिक सामान, रक्सी र गाजा जस्ता आपत्तिजनक सामाग्रीहरू तस्करी हुँदै छन् ।
उनका अनुसार, यस तस्करीमा प्रहरीका केही अधिकारीहरूको संलग्नता रहेको छ । यसका साथै, उनले नजिकको भाट बजारबाट पाँच किलो चिनी ल्याउने सामान्य व्यक्तिलाई प्रहरीले समातेर मानसिक र आर्थिक यातना दिएको दावी पनि गरे ।
साहका अनुसार प्रहरीको यस्तो कारबाही नागरिकलाई आतंकित पार्ने र तस्करीमा संलग्न माफियाका लागि सहुलियत गर्ने कार्यमा परिणत भएको छ ।
यस खुलासासँगै प्रदेश सभा सदस्य साहले तस्करीको रोकथामको लागि कडा कारबाहीको माग गरेका छन् र प्रहरी प्रशासनका उच्च अधिकारीहरूलाई यस विषयमा ध्यान दिन अनुरोध गरेका छन् ।














