काठमाडौं, १६ पौस । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पाएको हो ।
शंकास्पद वस्तु फेला परेपछि इटहरी बजार क्षेत्रमा परिचालित सुरक्षाकर्मी हुन्छ । मंगलवार बिहान उपमहानगरपालिका कार्यालय अगाडि सहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगाएको थियो । सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो ।
उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो । राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको बताए । मोरङ र सुनसरीको सीमा रहेको बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो ।
शंकास्पद भनिएको बोरामा पुराना कपडा मात्र भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।














