काठमाडौं, १६ कात्तिक । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने समितिको सचिवालयले जनाएको छ।
जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि थापाको संसदीय सुनुवाइ स्थगित गरिएको थियो। सुनुवाइका क्रममा उनले जापानको पीआर त्यागिसकेको दाबी गरे पनि संविधानको धारा २९१ र पीआर त्यागेको समयावधिबारे सांसदहरूले थप स्पष्टता मागेका थिए।
यस विषयमा समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको भए पनि हालसम्म जवाफ प्राप्त भएको छैन। जापानबाट जवाफ नआएकै अवस्थामा समितिले आज बैठक बोलाएको हो।
१३ जना प्रस्तावित राजदूतमध्ये यसअघि १० जनाको नाम अनुमोदन भइसकेको छ भने साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत भएको थियो।
राजदूत थापाबारे यही कात्तिक १९ गतेभित्र निर्णय गर्ने समितिको तयारी छ। नियमअनुसार ४५ दिनभित्र संसदीय सुनुवाइ समितिले निर्णय दिन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ। उक्त समयसीमा कात्तिक १९ गते समाप्त हुँदैछ।














