काठमाडौं, १३ असोज । प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय भ्रमणबारे प्रतिनिधिसभालाई पर्याप्त जानकारी नदिएको भन्दै एमाले सांसद टुकाभद्रा हमालले सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद्लाई जानकारी गराउने संसदीय परम्परा भए पनि यसपटक त्यसको पालना नभएको बताइन्। प्रधानमन्त्री स्वदेश फर्किसकेपछि समेत भ्रमणका क्रममा भएका भेटवार्ता र उठाइएका विषयबारे सदनलाई जानकारी नगराइएकोमा उनले असन्तुष्टि जनाइन्।
सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणबारे सदनमा जानकारी र जवाफ दिनुपर्ने माग गरिन्। भ्रमणका क्रममा भएका छलफल र निर्णय सार्वजनिक सरोकारका विषय भएकाले संसद्लाई विश्वासमा लिएर अघि बढ्न उनले सरकारलाई आग्रह गरिन्।














