काठमाडौं, १३ असोज । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा एक जना अझै बेपत्ता छन्।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी ७९ वर्षीया सासु नरमाया रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परिवारका अन्य सदस्य सामान्य घाइते भएका छन्।
यसअघि ताराखोलामा एक, तमानखोलामा चार र निसीखोलामा पाँच जनाको मृत्यु भएको थियो। प्रहरीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।














