काठमाडौं, १२ असोज। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण असोज ८ देखि ११ गतेसम्म देशभर २१ जनाको मृत्यु, ५ जना घाइते र ५ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३, पहिरोका २५६ र अविरल वर्षाका ११७ घटनाबाट जनधनको क्षति भएको हो।
विपद्बाट १४३ घर पूर्ण र ५१ घर आंशिक क्षतिग्रस्त भएका छन् भने ७४७ परिवार प्रभावित भएका छन्। जोखिममा रहेका करिब २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।
देशका १८६ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएकोमा नवलपरासीको डेढगाउँमा सर्वाधिक ५४४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
जाजरकोट, म्याग्दी र बागलुङमा फसेका यात्रु तथा पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ।














