काठमाडौं, १० असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी बस्तीमा पसेपछि १६५ घरपरिवार प्रभावित भएका छन्।
शुक्रबार थारु टोलबाट बस्तीमा पस्न थालेको बाढीका कारण ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। शनिबार बिहान गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको थियो।
स्थानीयका अनुसार तटबन्ध निर्माण रोकिएको १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको छ। बाढीले घरसँगै उखु खेतीमा समेत क्षति पुर्याएको छ। जोखिममा रहेका परिवारको उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्।














