काठमाडौं, ४ असोज । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल–भिआरएस) मार्फत चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।
नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पठाइने र छपाइपछि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पुर्याइने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाइ तथा वितरणमा हुँदै आएको ढिलाइ घट्ने विभागको अपेक्षा छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि पठाइएको विभागले जनाएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर आफैं लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ।














