काठमाडौं, २६ भदौँ । बजारमा एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सरोकारवालासँग छलफल गर्ने भएका छन् ।
मन्त्री साहले शुक्रबार साँझ ५ बजे ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका विषयमा उद्योगीलाई छलफलका लागि बोलाएका हुन् ।
बैठकमा ग्यास अभाव, आपूर्ति व्यवस्थापन, वितरण प्रणालीका कमजोरी तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उपायबारे छलफल हुने बताइएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार उद्योगीहरूले बजारमा देखिएको समस्याबारे मन्त्रीसमक्ष आफ्नो धारणा राख्नेछन् । साथै, सुरक्षा निकाय र वाणिज्य विभागले ग्यासको अवस्थाबारे संयुक्त अनुगमन गरिरहेको जनाइएको छ ।














