काठमाडौं, १८ भदौ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका सात प्रमुख निर्णय सरकारले सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू :
- एडीबीको ५ मिलियन डलर अनुदान स्वीकार गर्ने : भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन खोज, उद्धार र राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय।
- बाढी प्रभावित व्यवसायलाई राहत र सहुलियत : रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन राहत, कर तथा महसुलमा सहुलियतलगायत सुविधा उपलब्ध गराउने।
- २५ हजार मेट्रिकटन चिनी आयात : साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिने।
- उद्धारमा खटिएका सुरक्षाकर्मीलाई सुविधा : बाढीपछिको खोज तथा उद्धारमा परिचालित सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने। घाइते भए निःशुल्क उपचार र मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ राहत दिने।
- भदौ २३ गते सार्वजनिक बिदा : जेनजी शहीद दिवसका अवसरमा २०८३ भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने।
- भदौ २२ गते राष्ट्रिय शोक : भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने। उक्त दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने।
- नारायणप्रसाद भट्ट सचिवमा बढुवा : नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित विशिष्ट श्रेणीका नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय।














