काठमाडौं, १ साउन । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक आधार नदेखिएको निष्कर्ष निकाल्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
अदालतले आदेशमा तीन मुख्य आधार उल्लेख गरेको छ । पहिलो, हालसम्म प्राप्त प्रमाणबाट पौडेलको आरोपित घटनामा प्रत्यक्ष संलग्नता पुष्टि नभएको । दोस्रो, आरोपबारे उनले इन्कारी बयान दिएको ।
र तेस्रो, दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा त्यसबाट सम्पत्ति तथा अनुचित लाभ प्राप्त गरेको प्रमाण नदेखिएको । यही आधारमा अदालतले पौडेललाई थुनामुक्त राखेर मुद्दाको सुनुवाइ अगाडि बढाउने निर्णय गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत ८ असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । मुद्दाको थप सुनुवाइ भने विशेष अदालतमा नियमित प्रक्रियाअनुसार जारी रहनेछ ।














