जनकपुर, २२ जेष्ठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेश प्रदेशलाई अपेक्षाअनुसार प्राथमिकता नदिएको गुनासो गरेका छन् ।
जनकपुरमा आयोजित होटल उद्घाटन कार्यक्रममा उनले प्रधानमन्त्रीसँगको भेटमा मधेश र जनकपुरलाई विशेष सम्बोधन गर्ने आश्वासन पाए पनि बजेटमा त्यसको प्रतिबिम्ब नदेखिएको बताए ।
मुख्यमन्त्री यादवले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको जनकपुरलाई पर्याप्त प्राथमिकता नदिइएको उल्लेख गर्दै म्यारिज डेस्टिनेसन बनाउने योजना बजेटमा नसमेटिएको बताए ।
संघीय बजेटप्रति असन्तुष्टि जनाए पनि प्रदेश सरकारले पर्यटन, पूर्वाधार र लगानी प्रवद्र्धनका क्षेत्रमा आफ्नै पहलमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।














