काठमाडौँ, १६ जेष्ठ । नेकपा -एमाले अध्यक्ष केपी शार्मा ओलीले ४६ पृष्ठ लामो अन्तर पार्टी निर्देशन-अपानी- जारी गर्दै नेता–कार्यकर्तालाई पार्टी नछाड्न आग्रह गरेका छन् ।
निर्वाचनको परिणामपछि पार्टीभित्र निराशा र पलायनको अवस्था देखिएकाले आशा र एकताको भावना सुदृढ गर्न आवश्यक रहेको उनले बताएका छन् ।
अपानीमा आगामी असार दोस्रो साता बस्ने केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने उल्लेख गरिएको छ ।
ओलीले चुनौती जति जटिल भए पनि समाधान सम्भव रहेको भन्दै पार्टी काममा सक्रिय हुन आह्वान गरेका छन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेका पुराना राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
साथै, प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा अन्य दलहरूको साथ नपाउँदा एमाले निर्वाचनमा सहभागी हुन बाध्य भएको र त्यसको परिणाम पार्टीको पक्षमा नआएको बताएका छन् ।
अपानीमा प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैपटक गराउने तयारी भइरहेको पनि उल्लेख गरिएको छ ।














