काठमाडौँ, १५ जेष्ठ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँलगायत विभिन्न स्थानका सुकुमबासी बस्ती भत्काउने सरकारी कदम गलत भएको बताएका छन् ।
शुक्रबार सानेपामा आयोजित एक छलफल कार्यक्रममा बोल्दै थापाले वैकल्पिक व्यवस्था नगरी सुकुमबासीका घर–टहरा हटाउनु नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारविरुद्ध भएको बताए ।
उनले रातारात बस्ती हटाउने कार्य स्वीकार्य नभएको उल्लेख गर्दै संविधानले भूमिहीन दलितलाई भूमि उपलब्ध गराउने व्यवस्था गरेको स्मरण गराए ।
थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विधि र प्रक्रिया पूरा नगरी सुकुमबासी बस्ती हटाए कारबाही गरिने चेतावनी दिएको बताए। सुकुमबासीलाई उचित स्थानमा व्यवस्थापन गरेपछि मात्र बस्ती स्थानान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।














