काठमाडौं, १६ जेठ । सरकारले विस्थापित गरेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापनको माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको नेतृत्वमा माइतीघर मण्डलाबाट सुरु भएको सिटी बजाउने र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो।
प्रदर्शनकारीहरूले विकल्पविना सुकुम्वासीलाई विस्थापित गरिएको र राज्यले ‘डोजर आतंक’ सिर्जना गरेको आरोप लगाए। प्रदर्शनमा अधिकारकर्मी, नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा युवाहरूले पनि ऐक्यबद्धता जनाएका थिए।
उनीहरूले विस्थापित सुकुम्वासीको उचित व्यवस्थापन गर्न, डोजर प्रयोग गरी गरिने हटाउने अभियान रोक्न तथा सुकुम्वासीका मागप्रति सरकार गम्भीर बन्न आग्रह गरेका छन्।
सरकारबाट सुनुवाइ नभएकाले सिटी बजाएर खबरदारी गर्नुपरेको प्रदर्शनकारीहरूको भनाइ थियो।














