जनकपुर, २ जेष्ठ । मधेस प्रदेशको धनुषासहित प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीहरूले बर्साइत अर्थात् वटसावित्री पर्व श्रद्धापूर्वक मनाइरहेका छन् ।
जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै महिलाहरू निराहार व्रत बस्ने, वटवृक्षको पूजा गर्ने तथा सती सावित्रीको कथा सुन्ने परम्परा रहेको छ ।
मिथिलानी महिलाहरू नयाँ पहिरनमा सजिएर सामूहिक रूपमा गीत गाउँदै वटवृक्षमुनि पूजा–आराधना गर्छन्। सती सावित्रीले तपस्याबाट पति सत्यवानलाई पुनर्जीवन दिलाएको पौराणिक विश्वासका आधारमा यो पर्व मनाइन्छ ।
यस पर्वलाई महिलाबीच भेटघाट, दुःख–सुख साटासाट र सांस्कृतिक मेलमिलापको अवसरका रूपमा पनि लिइन्छ । पहिले सीमित जातिले मात्रै मनाउने यो पर्व अहिले मिथिलाका अधिकांश समुदायमा फैलिएको छ ।














