जनकपुर, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा जिल्ला युवा नेता पंकज महतोले देशभर भइरहेको राजनीतिक आन्दोलनका बीच सामाजिक सञ्जालमार्फत नागरिकलाई संयमता अपनाउन अपिल गरेका छन् ।
उनले कुनै पनि दल वा संघ–संस्थाले गर्ने आन्दोलनमा सहभागी नहुन र अरूलाई पनि सहभागी हुन नप्रेरित गर्न आग्रह गरेका छन् । महतोले अहिलेको अवस्थामा देशलाई आन्दोलनभन्दा सुशासन, स्थिरता र समृद्धि आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई रचनात्मक सहयोग गर्नु नागरिकको जिम्मेवारी भएको बताएका छन् ।
उनले सचेत नागरिक भएर देशलाई सही दिशातर्फ अघि बढाउन सबैलाई भूमिका खेल्न आह्वान गरेका छन् । यता नेपाल कम्युनिष्ट पार्टी-एमाले- का नेता तथा कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा विभिन्न ठाउँमा तनावसमेत देखिएको छ ।
प्रहरीले ओलीलाई उनकै सवारीसाधनमार्फत नियन्त्रणमा लिँदै काठमाडौं जिल्ला प्रहरी परिसरमा लगेको थियो । साथै, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक लाई पनि आज बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ ।














