काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोह सांस्कृतिक विविधतामा सम्पन्न भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा १३ चैतमा दिउँसो १२ः३४ बजे आयोजित समारोहमा बालेनले पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ ग्रहणलाई बहुसांस्कृतिक र परम्परागत शैलीमा प्रस्तुत गरिएको थियो ।
१०८ हिन्दू बटुकहरूले स्वस्ति वाचन गरे भने १०७ बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गरे। सात ब्राह्मणहरूले शंखनाद गर्दै वातावरण पवित्र र ऊर्जावान बनाएका थिए । समारोहमा मिथिला संस्कृति झल्काउने ‘मिथिला आर्ट’ र किराती संस्कृति प्रतिनिधित्व गर्ने ‘सिलाम साक्मा’ राखिएका थिए । साथै भगवान शिव र पार्वतीको भेषमा दुई जना सहभागी भई नेपाली सांस्कृतिक विविधतालाई सम्मान गरिएको थियो ।
२१ फागुनमा झापा–५ बाट प्रतिनिधिसभा चुनाव जितेका ३६ वर्षीय बालेन यसअघि काठमाडौं महानगरपालिकाका मेयर थिए। शपथ ग्रहण समारोहलाई नेपालको नयाँ राजनीतिक युगको सुरुवातका रूपमा हेरिएको छ।














