एजेन्सी, ११ चैत । संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले विश्व हाल दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा हिंसात्मक चरणमा रहेका जनाएका छन् । विशेषगरी मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण सर्वसाधारणको जीवनमा गम्भीर प्रभाव परेको र यसको असर विश्वभर फैलिएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भा का अनुसार हिंसा र अस्थिरताका कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भइरहेको छ , र यो संख्या निरन्तर बढिरहेको छ । उनले मध्यपूर्वको द्वन्द्वले विश्व अर्थतन्त्रमा समेत असर पु¥याएको बताउँदै तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको बताएको छ ।
यसको प्रभाव विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरूमा बढी देखिने अनुमान गरिएको छ । यसैबीच, विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्न सक्ने र प्रभावित हुने जनसंख्या करोडौंले बढ्न सक्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसंघ ले सबै पक्षलाई सुरक्षा परिषद्का निर्णयहरू कार्यान्वयन गर्न तथा कूटनीतिक र शान्तिपूर्ण उपायमार्फत द्वन्द्व समाधान गर्न आग्रह गरेको छ । साथै, उक्त संस्थाले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको बताए ।














