काठमाडौं, ८ चैत । इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले जनाएका छन् ।
विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै गएको र सर्वसाधारणमा त्रासको अवस्था देखिएको छ । त्यहाँ रहेका नेपालीहरू हालसम्मको अवस्थामा सुरक्षित रहेपनि बढ्दो आक्रमणबाट त्रसित देखिएका छन् ।
उनीहरूमा सुरक्षा चिन्ता बढ्दै गएको हो । एनआरएनए आईसीसी सदस्य अलि महम्मद मियाँका अनुसार विगतको तुलनामा हिजोबाट बढी मात्रामा क्षेप्यास्त्र आक्रमण भइरहेका छन् । आज बिहान मात्रै तेल अविव क्षेत्रमा पटक–पटक आक्रमण भएको थियो ।
विशेषगरी रामत गान र पेटाह टिक्वा लगायतका स्थानमा मिसाइल खसेका छन्, जसबाट कम्तीमा केही व्यक्ति घाइते भएका छन् । लगातार क्षेप्यास्त्र आइरहेपनि हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी नआएको मिँयाको भनाइ छ । तर अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएको बताए ।














