एजेन्शी, अफगानिस्तानको पूर्वी क्षेत्रमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा तीन बालबालिका र एक महिलासहित चार जनाको मृत्यु भएको अफगान सरकारले जनाएको छ ।
खोस्त र नुरिस्तान क्षेत्रमा भएको सीमापार झडपमा केही सर्वसाधारण घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
पाकिस्तानले अफगानिस्तानलाई पाकिस्तानी तालिबान लडाकुलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगान पक्षले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
पछिल्ला दिनमा दुवै देशबीच सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो द्वन्द्वका कारण धेरै सर्वसाधारण प्रभावित भएका छन् र हजारौँ मानिस विस्थापित भएका छन् ।














