रौतहट, १० फागुन । रौतहटमा भएको घटनापछि वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुरमा दुई समुदायबीच झडप भएको छ ।
झडपपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । स्थानीय स्रोतका अनुसार सामान्य विवादबाट सुरु भएको भनाभन एकाएक उग्र बनेर ढुंगामुढा र झडपमा परिणत भएको थियो ।
झडपका क्रममा केही युवाहरू घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ भने उनीहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।
घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी प्रशासनले थप अप्रिय घटना हुन नदिन गस्ती कडा बनाएको छ । हाल श्रीपुर क्षेत्रमा आंशिक रूपमा त्रासको वातावरण रहेको छ ।
यसअघि रौतहटमा भएको साम्प्रदायिक तनावको असर आसपासका जिल्लामा समेत देखिन थालेको भन्दै सुरक्षा निकाय सतर्क अवस्थामा रहेको जनाइएको छ ।
प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन र शान्ति कायम राख्न आग्रह गरेको छ ।














