काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि तयार रहेको बताएका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका ओलीले निर्वाचनका एजेन्डा, विगतको काम र भावी योजनाबारे प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैसँग आमनेसामने बहस गर्न तयार रहेको उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जाल तथा पत्रकारहरूसँगको कुराकानीमा उनले पारदर्शी बहस लोकतन्त्रका लागि सकारात्मक हुने बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा उनले सबै प्रधानमन्त्रीका दाबेदारलाई एउटै मञ्चमा ल्याएर बहस गराउन आग्रह गरेका छन् ।














