काठमाडौं, ११ माघ । राष्ट्रियसभाका आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सिटमध्ये १७ सिटका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । कोसी प्रदेशको खस आर्यतर्फको एक सिटमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
बाँकी सिटका लागि प्रदेश निर्वाचन कार्यालय तथा तोकिएका मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । यस निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष मतदाता रहनेछन् ।
केही जनप्रतिनिधिले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएपछि मतभार घटेको आयोगले जनाएको छ ।














