काठमाडौं, १० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिने राजनीतिक दलहरूमा स्पष्ट दिशा र गन्तव्य नभएको टिप्पणी गरेका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै ती शक्तिहरू कहाँ जान खोजिरहेका छन् भन्ने नै प्रस्ट नभएको आरोप लगाए।
ललितपुरको च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ राजनीतिक दलप्रति कटाक्ष गर्दै प्रसिद्ध गायक नारायण गोपालको गीत स्मरण गरे।
उनले भने, “भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन थाहा छैन” भन्दै नयाँ दलहरूको भविष्य अन्योलग्रस्त रहेको संकेत गरे।
अध्यक्ष ओलीले नेकपा एमालेले स्पष्ट विचार, नीति र लक्ष्यका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान अघि बढाइरहेको दाबी गरे। उनले नयाँ भन्दै उदाएका केही शक्तिहरूले एमाले नेतृत्वमाथि चरित्र हत्या गर्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए।
उनले वर्तमान राजनीति देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीचको संघर्षको चरणमा रहेको टिप्पणी गर्दै जनता सचेत हुनुपर्ने बताए।














