काठमाडौं, ८ माघ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म पश्चिम नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका क्षेत्रमा वर्षा र उच्च हिमाली भूभागमा मध्यम हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् । यो प्रणाली शनिबारसम्म मात्रै सक्रिय रहनेछ ।
साथै, माघ १३ गते मंगलबार रातिदेखि बुधबारसम्म पुनः हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । हाल देशभर मौसम प्रायः सफा रहे पनि तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने देखिएको छ ।
वर्षाले सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिने अपेक्षा गरिएको छ ।














