जनकपुर, ७ माघ । धनुषा-४ मा यसपटक पनि नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
दुई पटक लगातार जितिसकेका महासेठ ह्याट्रिकको लक्ष्यमा छन् भने अघिल्ला दुई चुनावमा पराजित यादव बदला लिने दाउमा मैदानमा उत्रिएका छन् ।
क्षेत्रका धेरै मतदाता भने पुराना नेताप्रति निराश देखिन्छन् । वैदेशिक रोजगारी, रोजगारी सिर्जना, शिक्षा, विकास, नदी कटान र अवैध उत्खनन जस्ता मुद्दा उठाउँदै मतदाताले नयाँ र वैकल्पिक शक्तिप्रति चासो देखाएका छन् ।
ग्रामीण क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो देखिन्छ, जसलाई धेरैले ‘बालेन शाहको पार्टी’का रूपमा चिन्छन् । २०७९ को निर्वाचनमा महासेठले यादवलाई १२४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।
यसपालि महासेठ–यादवको कडा प्रतिस्पर्धाबीच रास्वपा, नेकपा र जनमत पार्टीलगायत नयाँ उम्मेदवारहरूले पनि टक्कर दिने सम्भावना देखिएको छ ।














