काठमाडौँ, ७ माघ । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
निर्वाचनको प्रचारप्रसार र अभियान शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सबै सुरक्षा संयन्त्रलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनसँग सम्बन्धित सबै संयन्त्रबीच प्रभावकारी समन्वय कायम गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचन कार्यक्रमका क्रममा हुन सक्ने सम्भावित चुनौतीहरूलाई ध्यानमा राख्दै पूर्वतयारी र सतर्कता बढाउन जोड दिएको छ । बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानीलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ ।
सामाजिक सञ्जालमार्फत भड्काउने, उत्तेजक वा गैरकानुनी गतिविधि भएको पाइएमा कानुनअनुसार कारबाही गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी बैठकमा चारवटै सुरक्षा निकायले तयार पारेका निर्वाचन सुरक्षा योजनाको समीक्षा गरिएको थियो । केन्द्रीय सुरक्षा समितिबाट पारित भई कार्यान्वयनमा रहेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ लाई प्रभावकारी रूपमा लागू गर्ने तथा आवश्यकताअनुसार सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय पनि बैठकले गरेको छ ।














