जनकपुर, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने जनकपुर आएका छन् ।
जनकपुर–१४ मा रहेको सहिद स्मारकमा पुगेर उनले सहिदहरूप्रति माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । जनकपुरमा आयोजना गरिएको ‘परिवर्तनको उद्घोष’ नामक कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने जनकपुर आएका हुन् ।
सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि उनले जनकपुर तथा मधेशको राजनीतिक, सामाजिक र विकाससम्बन्धी विषयमा पार्टीको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका पुर्ब मेयर तथा रास्वपा नेता बालेन शाहको पनि सहभागिता रहने जनाइएको छ । कार्यक्रमलाई लिएर जनकपुरमा समर्थकहरूको उत्साह देखिएको छ भने सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ ।
रास्वपाले मधेशबाटै परिवर्तनको सन्देश देशभर फैलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ । 














