काठमाडौँ, ४ माघ । अघिल्लो निर्वाचनमा चर्चामा रहेको सप्तरी क्षेत्र नम्बर २ यसपटक पनि चासोको केन्द्र बनेको छ ।
तर यसपटक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आमनेसामने हुने छैनन् । दुवै दल लोकतान्त्रिक मोर्चामा आवद्ध भएकाले चुनावी तालमेल गर्ने सहमति भएको हो ।
जनमत पार्टीले डा. सीके राउत सप्तरी–२ बाट पुनः उम्मेदवार बन्ने स्पष्ट संकेत गरेको छ । उता, जसपा नेपालले उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने बताए पनि कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने विषय गोप्य राखेको छ ।
जसपा नेपालका अनुसार मोर्चाका शीर्ष नेताबीच छलफल बाँकी रहेकाले सहमति भएपछि मात्र उपेन्द्र यादवको क्षेत्र टुंगो लाग्नेछ ।
लोकतान्त्रिक मोर्चामा रहेका शीर्ष नेताहरू एक–अर्काविरुद्ध प्रतिस्पर्धा नगर्ने सहमति भएको बताइएको छ ।














