काठमाडौं, ४ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली (घण्टीघर) पुगेका छन् ।
उनले उपप्रमुखसमक्ष राजीनामा बुझाएलगत्तै पार्टी कार्यालय पुगेका हुन् । बालेनसँगै ‘जेनजी’ अभियानका अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।
गुरुङले आजै रास्वपा प्रवेश गर्ने घोषणा गरेका छन् । उनको स्वागतका लागि पार्टी कार्यालयमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य भीड देखिएको छ ।
पार्टी स्रोतका अनुसार बालेन रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने तयारीमा छन् ।
बैठकपछि उनी परिवर्तनको उद्घोष सभामा सहभागी हुन जनकपुर जाने कार्यक्रम रहेको छ । बालेनको राजीनामापछि राजधानीको राजनीति थप तातिएको छ भने रास्वपाभित्र आगामी निर्वाचनलाई लक्षित गतिविधि तीव्र बन्दै गएको छ ।














