काठमाडौं, १ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारको मनोनयन-पत्रमा प्रयोग हुने आधिकारिक हस्ताक्षर परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन परेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले अब उम्मेदवारका मनोनयन–पत्र थापाको हस्ताक्षरबाट जारी गरिनुपर्ने मागसहित आयोगमा निवेदन दिएको हो।
यसअघि आयोगले शेरबहादुर देउवाको हस्ताक्षरलाई मान्यता दिँदै समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नाम स्वीकार गरिसकेको थियो।
थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकले पार्टी विवरण अद्यावधिक गर्न निर्णय गरेपछि पदाधिकारी र कानुनविज्ञसहित आयोग पुगेका हुन्।














