काठमाडौं, १ माघ। बालेन साहलाई झापामा सम्पर्क कार्यालय स्थापना गर्न उपयुक्त घर पाउन कठिनाइ भइरहेको छ ।
पाँच दिनदेखि खोजी जारी रहे पनि कार्यालय र बसोबास दुवैका लागि उपयुक्त घर अहिलेसम्म टुंगो लागेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा निर्वाचन क्षेत्र नम्बर–५ मा उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला दमक क्याम्पस मोड र नेपाल बैंक आसपासका घरलाई प्राथमिकतामा राखेर खोजी भइरहेको रास्वपा नेताहरूले बताएका छन् ।
घर छनोटको अन्तिम निर्णय बालेन साहको सचिवालयले गर्ने जनाइएको छ । बालेन साह माघ ५ गते जनकपुरको सभापछि झापा जाने वा काठमाडौं फर्किने भन्ने खुलिसकेको छैन ।
यता, रास्वपा नेताहरूले झापा–५ मा बालेनको उम्मेदवारी लगभग निश्चित रहेको दाबी गरेका छन्, जसले एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएको क्षेत्रमा राजनीतिक सरगर्मी बढाएको छ ।













